बांके,माघ,२८ गते।
माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशमा नियुक्त विनाविभागीय मन्त्री कृष्णा केसी नमुनाले पदबाट राजीनामा दिएकी छन् । केसी मन्त्रालय बाँडफाँटको विषयमा सुरुदेखि नै असन्तुष्ट थिइन् । यही कारण उनले राजीनामा दिएको बताएको छ ।
माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पुष्टि गरे । यसबारेमा थप छलफल भइरहेको उनले बताए । लामो समयदेखि जिम्मेवारी नपाउने, पार्टीको भूमिकाप्रति आपत्ति जनाउँदै मन्त्रीज्यूले राजीनामा दिनुभएको हो’, स्रोतले भन्यो । केसी बाँके क्षेत्र नं.१ (क)बाट निर्वाचित सांसद हुन् ।
पुस २७ गते केसीले मन्त्रीको रुपमा शपथग्रहण गरेकी थिइन् । तर, एक महिनासम्म पनि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन । मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री भएका थिए । भागबण्डा नमिलेपछि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।
पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । गिरीले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए । मुख्यमन्त्रीले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका थिए ।