भारत,माघ,२८ गते।
विवाहमा दाइजोमा आफूले मागेको अपाचे मोटरसाइकल नदिएको आक्रोसमा दुलाहा मण्डपबाटै फरार भएका छन् । बेहुलीको दाजुलाई कुटपिट गरेर दुलाहा फरार भएपछि दुलही लिन गएको जन्ती रित्तो हात घर फर्किएको छ ।
घटना भारतको जनकगञ्ज क्षेत्रको हो । यहाँ कुशवाहा परिवारकी छोरीको बिहे आराधना गार्डेनमा भएको थियो । उक्त परिवार बहोदापुर थाना क्षेत्रको शिवनगर कोलोनीमा बस्छ । शहरकै माधवगञ्ज क्षेत्रबाट दुलही लिन जन्ती निस्किएको थियो । धूमधामका साथ पुगेका जन्तीलाई दुलही पक्षले स्वागत र अभिनन्दन गरेका थिए । वरमाला कार्यक्रम पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।
दुलाहा मोनु कुशवाहा जब दाइजो राखिएको विवाह मण्डपमा प्रवेश गरे, त्यसपछि समस्या सुरु भयो । अपाचे ब्राण्डको बाइक दाइजोस्वरूप दिने पूर्वसहमति दुलही पक्षबाट उल्लंघन भएको भन्दै उनले ताण्डब मच्चाए ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, अपाचे बाइक नल्याइएपछि दुलाहाले पूर्वसहमति स्मरण गराउँदै सोहीअनुसार गर्न आग्रह गरेका थिए । दुलही पक्षका प्रतिनिधिले बाइक एउटै भएको तर्क गर्दै रकम अभावमा साइन बाइक खरिद गर्नुपरेको बाध्यता सुनाएका थिए ।
दुलाहा टसको मस नभएपछि युवतीका दाजु र बुवा स्वयंले उनलाई विवाहमा तनाव नगर्न अनुनय गरे । तर मोनु थप उत्तेजित बन्दै बिहे नै तोड्ने धम्की दिन थाले । यसमा बेहुलीका दाजुले विरोध गरेकोमा उनलाई कुटपिट गर्दै बेहुला त्यहाँबाट भागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनापछि दुलहा र उनको परिवारविरुद्ध दुलही पक्षले प्रहरीमा जाहेरी दिएका छन् । उजुरीपछि बेहुला मोनु कुशवाहा, उनका बुवा गुड्डु, भाइ गोपी र गुलशनविरुद्ध दुर्व्यवहार तथा कुटपिटको मुद्दा दर्ता गरेर भारतिये प्रहरीले अनुसन्धान अघि बढाएको छ।