भारत,माघ,२६,गते।
भारतको सर्वोच्च अदालतले आफ्नो एक फैसलामा सिक्किमका नेपालीलाई विदेशी मूलका भनी लेखिएको शब्द हटाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सिक्किममा आयकर छुटसम्बन्धी गत महिना गरिएको एक फैसलामा सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनी गरिएको व्याख्या सर्वोच्चले बुधबार हटाएको हो।
सर्वोच्चले सुरूको रिट निवेदनमा उक्त शब्द त्यसरी नै उल्लेख भएकाले फैसलामा पनि समावेश हुन पुगेको बताएको छ। सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनेर सर्वोच्चको फैसलामा लेखिएपछि सिक्किममा यसको तीव्र विरोध भएको थियो। यही फैसलाका क्रममा सर्वोच्चले सिक्किमका बहुसङ्ख्यक नेपालीभाषीलाई विदेशी र आप्रवासी भनी टिप्पणी गरेपछि आन्दोलन सुरु भएको हो । त्यहाँको नेपाली समुदायले प्रदर्शनसहित सिक्किम बन्दको समेत आह्वान गरेका थिए।
सिक्किम सरकारले सर्वोच्चको फैसलाको उक्त अंश पुनरावलोकन गर्न निवेदन दिएको थियो। पश्चिम बंगालको दार्जिलिङसहितका क्षेत्रमा पनि नेपाली समुदायले आन्दोलन गरेका थिए।