नेपालगंज,माघ,२५गते।
बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई प्राथमिकतामा राखेर काम भइरहेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
मंगलबारदेखि कोहलपुर नगरपालिका वडा नम्बर १२ मा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ। अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताए।
यसअघि लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर–१ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । वडा नम्बर–१ मा एक हजार पाँच सय ६६ कित्ता नापजाँच भएको थियो । यस्तै वडा नम्बर–२ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको एक हजार सात सय ३० कित्ता नापजाँच भएको थियो ।
वडा नम्बर–२ मा मात्रै अहिले एक हजार आठ सय ४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । वडा नम्बर–२ मा ऐलानी जग्गा नापजाँचको काम आज पूरा भएको छ । “हामी निर्वाचित भएर आएपछि भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिने गरी ऐलानी जग्गा नापजाँच कार्यलाई तीव्र पार्ने योजनामा थियौँ”।
अबको केही महिनामा नापजाँचको काम सक्ने गरी आफूहरु लागेको नगर प्रमुख आचार्यले बताए । कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक वडा नम्बर–१२ का वडाध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोली खटिएको जानकारी दिए ।
कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक एवम वडा नम्बर–१२ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले ऐलानी जग्गा नापजाँचमा २१ अमिनको टोली खटिएको जानकारी दिएका छन्। कोहलपुरबाट नौ, भूमि आयोगबाट छ तथा जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित छ जना खटिएका छन् ।
‘जमिन भएका, तर वर्षौंदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ’, उनले भने। कोहलपुरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार छन् ।