काठमाडौं,माघ,२१,गते।
प्रहरी बृत्त नयाँबानेश्वरका डीएसपी निशान्त श्रीवास्तवले त्यस क्षेत्रका रेष्टुरेन्ट र होटलदेखि म्यानपावरहरुबाट समेत घुमु्वा परिचालन गरी मासिक र हप्ता असुली गर्ने गरेका छन् । तीनकुने सिम्रिक एयर नजिकै पूर्वगृहमन्त्री बालकृष्ण खाणको जग्गामा संचालित हिपत नामको रेस्टुरेन्टलाई रातभर खोल्न दिएबापत मासिक १ लाख घुस लिने गरेको आरोप छ ।
स्रोतका अनुसार हिपत मात्र होइन, खोला किनारका हरेक रेस्टुरेन्टलाई राति अबेरसम्म खोल्न दिएबापत मासिक १० देखि ५० हजार रुपैयाँ घुस संकलन गर्ने गरिएको आरोप छ । हिपत रेष्टुरेन्टले खोलेको फेसबुक पेजमै सधैं खुल्ला रहने भनेर विज्ञापन गरेको छ ।
खाँण गृहमन्त्री हुँदा नै हिपतलाई २४ घन्टा खोल्न दिने निर्णय गराइएको थियो । हिपत रेष्टुरेन्टमा पूर्वगृहमन्त्री खाँणको समेत लगानी भएको चर्चा हुँदैआएको छ । डीएसपी श्रीवास्तवले होटल र रेष्टुरेन्टबाट पैसा उठाउन ठाकुर थरका प्रहरी कार्यालय सहयोगी दिलीप ठाकुर (हजाम) लाई प्रयोग गर्ने गरेका छन् । ठाकुरले बाहिर भने आफूलाई सईको रुपमा चिनाउने गरेका छन्।
डीएसपी श्रीवास्तवले नेपाल प्रहरीको आचरणबिपरीत क्रियाकलाप गरेका धेरै गुनासा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेका छन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको जोडमा श्रीवास्तव २०७९ साउन २० मा प्रहरी बृत्त नयाँबानेश्वरमा सरुवा भएका थिए । उनले नयाँबानेश्वर बृत्तमा सरुवा भएदेखि नै कमाउधन्दा संचालन गर्दैआएका छन् ।
केही समयअघि तीनकुनेको कान्तिपुर दोहोरीमा तोडफोड भएको घटनामा अफिस मर्मतका लागि भन्दै संचालकसँग ५ लाख रुपैयाँ कारोबार भएको स्रोतले जनाएको छ ।तोडफोड गर्नेहरु सेनामा कार्यरत भएकाले कोर्टमार्शलको लागि सैनिक प्रहरीलाई जिम्मा लगाउछु भनेर कान्तिपुर दोहोरीलाई क्षतिपूर्ति स्वरुप तेब्बर पैसा तिराउने काम समेत उनले गरेका थिए । सेनाको टोलीलाई तेब्बर तिर्न लगाई कान्तिपुर दोहोरीसँग श्रीवास्तवले लाभ लिएको स्रोतले बतायो ।
अहिले डीएसपी श्रीवास्तवको अफिस क्वार्टर मर्मत भैरहेको छ । क्वार्टरमा उनले बार बनाउन थालेका छन् । कान्तिपुर दोहोरीसँग अफिस बनाउन भनेर लिएर पैसा खल्तीमा हालेको स्रोतले जानकारी दिएको छ । क्वाटर बनाउने भनेर ठाकुर परिचालन गरी ब्यापारीसँग पैसा उठाउँदै हिंडेको आरोप पनि डीएसपी श्रीवास्तवमाथि लागेको छ ।स्रोत,नेपाल फेस