काठमाडौं-माघ,१३ गते।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा} का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । नेपाली नागरिक नै नरहेको ठहरपछि उनको उपप्रधान एवं गृहमन्त्री पद चैट भएको हो ।
रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागे पनि नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगरेकाले उनी संसद् हुन अयोग्य रहेको अदालतले फैसला गरेको छ। उपप्रधान एवं गृहमन्त्री बनेको ३२ दिनमा उनको पद गएको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो ।लामिछानेले अमेरिकी नागरिकता लिएको र नेपालको नागरिकता पुनस् प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनी कानुनसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन योग्य नरहेको अदालतको ठहर छ।
लामिछाने मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। सर्वोच्चले उनी सांसद हुन अयोग्य रहेको फैसला सुनाएसँगै अब उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ।