बहराइच,भारत‚माघ,९,गते ।
रुकुम पश्चिमको मुसीकोट–८ की ४० वर्षीया अनिता गहतराज २०७० पुस पहिलो साता भारतको रूपैडिहा नाकाबाट डेढ किलो चरेससहित पक्राउ परिन् । भारतीय प्रहरीले उनलाई लागूपदार्थ ओसारपसार अभियोगमा मुद्दा चलायो । अति विपन्न परिवारकी अनिताले न मुद्दाको प्रक्रिया बुझिन् न त आफूमाथि लागेको आरोपबारे विस्तृतमा थाहा पाइन् ।
अदालतले उनलाई १० वर्ष कैद र १ लाख जरिवाना सजाय तोकिदियो । ९ वर्षयता उनी बहराइच जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेकी छन् । कारागार प्रशासनका अनुसार २०७० पुस १२ मा कारागारमा आएकी उनलाई करिब दुई महिनाअघि उत्तरप्रदेश राज्य उच्च अदालतले एक लाख जरिवाना बुझाए जमानतमा रिहा गर्न सकिने आदेश गरे पनि पैसा अभावमा उनी कारागारमै छिन् । अनिता लागूऔषध ओसारपसारको कारोबारमा मुछिनुको कारण खुल्न सकेको छैन । बहराइच कारागार प्रमुख आनन्द शुक्लाले अनिताको रिहाइ जमानतकै कारण ढिला भइरहेको बताए ।
अनिता पक्राउ पर्दा उनका छोरा नवीन ७ वर्षका थिए । आमा पक्राउ परेको उनलाई थाहै थिएन । बहराइच कारागारबाटै लागूऔषध मुद्दामा कैद भुक्तान गरेर ६ महिनाअघि रिहा भएकी रुकुमकी मनीषाले नवीनलाई आमाबारे बताइदिइन् । त्यतिबेला उनी मजदुरी गर्न भारतको हिमाचल प्रदेश पुगेका थिए । १७ वर्ष टेकेका उनले दुई साताअघि बहराइच कारागार पुगेर आमालाई भेटे । कारागार प्रमुख शुक्लाले त्यतिबेला कारागारका अरू कैदीबन्दी पनि आमा–छोराको मिलन देखेर भावुक बनेको सुनाए । तर, जमानत रकम जम्मा गर्न नसकेपछि नवीन रित्तै फर्किए ।
बहराइचको कारागारमा सजाय भुक्तान गर्ने अनिता एक्लो नेपाली कैदी होइनन्, अरू ५० नेपालीको अवस्था पनि उनको जस्तै छ । ४३ जना त लागूऔषध ओसारपसारसम्बन्धी मुद्दामै सजाय काटिरहेका छन् । ७ जनालाई वनसम्बन्धी मुद्दा छ । कारागारका अनुसार उनीहरू बाँके, बर्दिया, दाङ, रुकुम र जाजरकोटलगायत जिल्लाका छन् । नेपालीमध्ये ७ जनालाई उच्च अदालतले सजाय घटाएर १ लाख जरिवाना बुझाए मुक्त हुने फैसला गरे पनि रकम अभावमा उनीहरू कारागारमै छन् ।
रुकुमको खवामका नौलसिंह पुन ९ वर्षअघि लागूऔषध चरेस ओसारपसार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन् । भारतको रूपैडिहा बजारबाट पक्राउ परेका उनलाई जिल्ला अदालतले १३ वर्ष कैद र १ लाख जरिवाना सजाय तोकेको थियो । २०६९ चैत २४ बाट कारागारमा रहँदै आएका उनलाई केही साताअघि उच्च अदालतले १ लाख रुपैयाँ जरिवाना तिराएर रिहा गर्न आदेश दिएको छ । उनी पनि रकम अभावमा कैदमै छन् ।
बहराइचस्थित जेलमा रहेका नेपालीको मुद्दा हेर्दै आएका भारतीय कानुन व्यवसायी अनिश खानले धेरैजसो नेपाली लागूऔषध भरियाको काम गर्दा जेलमा पुगेको बताए । उनले भने, ‘धेरैजसो नेपाली ५/१० हजारको लोभमा लागूऔषधको सीमापार गर्ने क्रममा पक्राउ परेका देखिन्छन् ।’ धेरै नेपालीको परिवारले जेल परेको बारे सूचना नपाएकाले उनीहरूलाई भेट्न आउने पनि कोही नहुने गरेको उनले बताए ।
दाङ राजपुर–९ का खड्गबहादुर पुन पनि चरेस ओसारपसारको मुद्दामा जेलमा छन् । गत साउनमा पक्राउ परेका उनलाई श्रावास्ती जिल्ला प्रहरीले मुद्दा दायर गरी बहराइच जिल्ला कारागारमा पठाएको हो ।
बर्दिया बढैयाताल गाउँपालिका, मैनापोखरका २० वर्षीय विकास थारूलाई २०७८ कात्तिक २३ मा भारतीय प्रहरीले पक्राउ गर्यो । भारतमा रहेका आफन्तकामा जाने क्रममा उनी पक्राउ परेको बाबु सेवकरामले बताए । प्रहरीले डेढ किलो चरेस ओसारपसार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरेको छ । सेवकरामले सँगै रहेका अपरिचितहरू प्रहरी देखेपछि चरेस छोडेर भागेको र प्रहरीले निर्दोष विकासलाई पक्राउ गरेको दाबी गरे । विकासकी आमा बिदेसेनीले आफू दुई पटक बहराइच पुगे पनि कारागारले छोरालाई भेट्न नदिएको बताइन् । सेवकरामले विदेशी जेलमा रहेको छोराबारे सरकारी प्रतिनिधिले चासो नदेखाएको बताए । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले भारतीय जेलमा रहेका स्थानीयका सम्बन्धमा आफूले जानकारी नै नपाएको बताए ।
गुलरिया–१ का उदयलाल देवकोटा पछिल्लो एक वर्षयता बहराइच कारागारमा छन् । उनीमाथि लागूऔषध मुद्दा अदालतमा विचाराधीन छ । बहराइच पुगेर फर्केपछि उदयको परिवारसँग सम्पर्क गर्दा उनीहरूले उदयलाल जेलमा पो छन् ? भनेर अचम्म प्रकट गरे । उदयकी भाउजू संगीताले आफूहरूले देवरको खोजीका लागि स्थानीय प्रशासनमा भनेको र अनेकतिर खबर गर्दा पनि फेला नपरिरहेका बताइन् ।
कारागार प्रशासनले गत वैशाख १२ मा उदयलाल चरेससहित पक्राउ परेपछि मुद्दा चलाइएको बताए । बर्दिया गुलरिया–६ का अतिक अहम्मद सिद्दिकी गत असोज २४ देखि बहराइचमा बन्दी जीवन बिताइरहेका छन् । उनी लागूऔषध ब्राउन सुगरसहित रूपैडिहाबाट पक्राउ परेर जेल पुगेका थिए । बहराइचबाट फर्केर अतिकका काका निब्बरलाई
भेट्दा उनले भतिज हराइरहेको बताए । अतिक कारागारमा रहेको सुनेपछि उनले भने, ‘अनेकतिर खोजियो । फेला परेको थिएन । बल्ल तपाईंले भनेपछि थाहा पायौं । अब छिट्टै कारागारमा गएर भेट्छौं ।’
बहराइचको कारागारमा रहेका धेरै नेपाली कैदीबन्दीका परिवारले उनीहरूको खबर थाहै नपाएको देखियो । जेल प्रशासनबाट कारागारमा रहेका नेपालीको विवरण हेर्दा पनि त्यहाँ उनीहरूको स्थायी ठेगानाको स्पष्ट विवरण भेटिँदैन । कान्तिपुरले प्राप्त गरेको नेपाली कैदीबन्दीको विवरणमा जिल्ला र गाउँको नाम गलत लेखिएको छ भने धेरैको नाम मात्रै लेखिएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दुई साताअघि मात्रै भारतीय जेल प्रशासनले कारागारमा रहेका नेपालीको विवरण आफूहरूलाई पठाइदिएको बताए । उनले विवरणमा भएअनुसारका नेपाली परिवार खोज्ने काम भने भइनसकेको बताए । उनले भने, ‘हामीले यो विषय गृह मन्त्रालयमा पनि जानकारी गराइसकेका छौं । कतिपय कैदीको नाम, थर र ठेगाना स्पष्ट नभएकाले परिवारसँग सम्पर्क गर्ने काम भएको छैन ।’
कारागारबाट प्राप्त विवरणमा साविक गाविस मैनापोखर फुटाहाका दानबहादुर बन्दी रहेको देखिन्छ । तर मैनापोखरमा फुटाहा गाउँ नै भेटिँदैन । मैनापोखर थाना खैरेनीका चन्द्रलाल पनि अर्का बन्दी हुन् । उनको पनि थर नहुँदा र गाउँको स्पष्ट विवरण नहुँदा परिवार भेट्न सकिएन । बर्दिया मधुवन नपा–७ प्रगति बजारका भीमबहादुर पनि कारागारमा वन मुद्दामा सजाय भोगिरहेको देखिन्छ । कारागारले दिएको विवरणमा भीमको थर र स्पष्ट ठेगाना उल्लेख नभएकाले घर फेला पार्न नसकिएको मधुवनका पूर्वमेयर गणेश केसीले बताए ।
नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष कमल पाण्डेले कारागारमा रहेका थुनुवा बन्दीलाई आफन्ती, सञ्चारकर्मी र कानुन व्यवसायीसँग भेटघाट गर्न दिनुपर्ने अन्तर्राष्ट्रिय कानुन रहेको बताए । ‘निश्चित तोकिएको समयभित्र भेटघाट गर्न दिनुपर्छ,’ उनले भने, ‘भेटघाट गर्न नदिनु र कैदीबन्दीको परिवारमा खबर नगरिनु मानवअधिकारको गम्भीर उल्लंघन हो ।’
सरकारी निकायसँग तथ्यांक छैन
अछामका अधिकांश गाउँपालिकाका युवा श्रमको खोजीमा भारतका विभिन्न सहरमा छन् । कतिपय भने चोरी, लागू पदार्थ किनबेचदेखि फौजदारी अभियोगमा भारतका जेलमा पनि छन् । जिल्लाका कति नेपाली भारतका जेलमा छन् भन्नेबारे जिल्लास्थित कुनै पनि सरकारी निकायसँग तथ्यांक छैन ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका ३६ वर्षीय प्रकाशबहादुर शाही पाँच वर्षयता भारतको बहराइच जेलमा छन् । उनी २०७४ साउनमा भारतको रूपैडिहा नाकाबाट ९ किलो ९ सय ग्राम चरेस बोकेको आरोपमा पक्राउ परेका थिए । प्रकाशका जेठा दाइ शेरबहादुरले भाइलाई भारतीय अदालतले १६ वर्ष कैद र १ लाख जरिवाना सुनाएको बताए । श्रीमती र दुई छोराको पालनपोषण गर्ने जिम्मेवारी भएका भाइ पक्राउ परेपछि शेरबहादुरले कानुनी लडाइँ लड्न अनेक उपाय गरे । उनले भने, ‘भाइलाई छुटाइदिन्छौं भनेर भारतीय वकिलले पटक–पटक गरी १३ लाख लिए तर छुटाउन सकेनन् ।’ उनले विदेशी कानुन र जेल प्रशासनको कुरा बुझ्न नसक्दा आफूहरूले दुःख पाइरहेको बताउँदै नेपाली प्रशासनले आफ्नो दुःखमा चासोसम्म नदेखाएको बताए ।
शेरबहादुर गत साउनमा भाइलाई भेट्न बहराइच जेल पुगेका थिए । उनले त्यतिबेला भाइजस्तै ५४ नेपालीलाई जेलमा भेटेको बताए । उनले भने, ‘भाइ भएको जेलमा दाङ, सल्यान, जाजरकोट, रोल्पा, रुकुमका युवा पनि थिए ।’
पञ्चदेवल विनायक–८ बारलाका अध्यक्ष छत्रबहादुर शाहीले भारतका जेलमा कति नेपाली छन् भनेर खोजिनुपर्ने बताए । उनले बारला गाउँका पाँच नेपालीले अहिले भारतका विभिन्न जेलमा कैद भुक्तान गरिरहेको बताए । उनले भने, ‘विभिन्न आरोपमा जेल हाल्नेलगायतका यातनाबाट धेरै नेपाली भारतमा पीडित भएको हामीलाई जानकारी आउँछ तर के गर्नु, त्यहाँ नगए धेरै अछामीको रोजीरोटी बन्द हुन्छ ।’
श्रोत –कान्तिपुरबाट