कोशी,माघ,४ गते।
कोशी अस्पतालमा कार्यरत एक डाक्टरले ज्युँदै नवजात शिशुलाई मृत घोषणा गरिदिएका छन् । कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा।आकाश यादवले बिरामी भएर अस्पताल ल्याएका जिउँदै नवजातशिशुलाई मृत घोषणा गरिदिए कोशी अस्पतालमा विवाद भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि कोशी ल्याएको १८ दिनको नवजात शिशुलाई डाक्टर यादवले स्वास्थ्य उपचार राम्रोसँग नगरी जीवित बच्चालाई मृत घोषणा गरिदिएका हुन् । मोरङको जहदा गाउँपालिका ३ भाथिगञ्जकी उमा मुखियाले कोशी अस्पतालमा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन् ।
सामान्य डेलिभरी भएर छोरीलाई जन्म दिएकी थिईन् । १ किलो चार सय ग्राम तौल रहेको शिशुको बच्चा सहित उमा विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमारा माइती घर बस्दै आएकी थिईन् । शिशुमा श्वास प्रश्वासमा समस्या देखिएपछि बुधवार मुखिया दम्पतीले कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर गएका थिए । त्यो समयमा मेडिकल अफिसर डा. आकाश यादव तथा अहेवहरू लक्ष्मण माझी र टिका भण्डारी आकस्मिक कक्षमा कार्यरत थिए ।
उपचारमा लापरवाही गरेको भन्दै शिशुको आफन्तले चिकित्सकलाई कुटपिट गरेका छन्। परिवारले नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लगाउँदै कोशी अस्पतालको आकस्मिक कक्षका डा. आकाश यादवलाई कुटपिट गरेका हुन्। आफन्तको कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ।
चिकित्सकमाथि आक्रमण गर्ने तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र नाम नखुलेका अर्का एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।