काठमाडौं,माघ,१,गते ।
आज माघ १ गते अर्थात् माघे संक्रान्ति विविध कार्यक्रम गरि देशभर मनाइँदै । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्। मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन्। माघे संक्रान्तिको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।