नेपालगंज-पुष २२ गते-शीतलहरका कारण बांके नेपालगंज उपमहानगरपालिकाले तिन दिनको शैक्षिक संस्थालाई बिदा दिएको छ । चिसो तथा शीतलहरले विद्यार्थीको स्वास्थ्यमा असर पर्ने भन्दै नेपालगंज उपमहानगरपालिकाले एक सूचना प्रकासित गरी तिन दिन जाडो बिदा दिएको जनाएको हो।
नेपालगंज उपमहानगरपालिका भित्रका शैक्षिक संस्थाहरू पुस २४ गते आइतवार देखि २६ गते मंगलवार सम्म बन्द रहने नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताए । केही दिनयता बढेको अत्यधिक चिसोका कारण विद्यार्थीहरूमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा समेत असहज वातावरण सिर्जना भएकाले नेपालगंज उपमहानगरपालिका नगर शिक्षा समितिको बैठकले तीन दिन विद्यालयमा बिदा दिने निर्णय गरेको थियो।
बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुसारो परेर अत्यधिक चिसो बढ्न थालेपछि नेपालगंजको जनजीवन कष्टकर बनेको छ । चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहामा कम देखिएका छन् । यसैबीच चिसो बढ्दै गएपछि नेपालगंज उपमहानगरपालिकाले आगो बाल्न दाउरा वितरण गरेको छ ।