बांके- पुष १७ गते-माघेसङ्क्रान्ति थारु जातिको विशेष पर्व माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लामा आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ । थारू जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ। थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारू समुदायमा गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ
थारू बस्तीमा खानपिन र नाचगानको तयारी भइरहेको गुलरिया नगरपालिका–२ का धना चौधरीले लिमरा खबरलाई बताए । माघी नजिकिएसँगै थारु समुदाय काममा जुटेका छन् । माघीपर्व आउनुभन्दा एक महिना अघिदेखि विभिन्न तयारी गर्ने चलन अनुसार आजभोलि तयारी भइरहेको छ ।
गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा संकलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका महिला व्यस्त रहेको उनले बताए । ढिक्री पकाउने, विशेष झोल, अनदीको रोटी, भातलगायत विशेष मिठामिठा परिकारको जोहो गर्ने चलन छ । थारु समुदायका व्यक्तिले माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् ।
माछासँगै गँगटा र घोङ्गीको विशेष परिकारको बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको थारू महिला अगुवा राधा चौधरी बताउँछिन् ।
उनले भनिन्, ‘खानाको परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्ने हुन्छ, घर बाहिर भएका मानिस घरमा आउँछन्, गाउँमा छुट्टै चहलपहल र भेटघाट हुने भएकाले रमाइलो हुन्छ, थारु समुदायको अन्य खेतीपातीका काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबाबा, दाजुभाइ दिदीबहिनी जुट्नुभएको छ चौधरीले बताईन ।