दाङ-पुस १७ गते-लुम्बिनी प्रदेशसभामा नवनिर्वाचित नयाँ सदस्यहरुको आज शपथ ग्रहण हुँदैछ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा दिउँसो १ बजे सपथ ग्रहण गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले दिउँसो १ बजे प्रदेशप्रमुख अमिक शेरचनले सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम राखिएको जानकारी गराए । शपथका लागि प्रदेशका १२ वटै जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरूमध्ये कतिपय शनिबार नै दाङ पुगिसकेका छन् । पहिलो ५ वर्षे कार्यकालका सबै बैठकहरू प्रदेश मुकाम बुटवलबाट भए पनि दोस्रो कार्यकालका सबैकामहरू स्थायी राजधानीबाट हुन लागेको हो ।
शपथ ग्रहण कार्यक्रम र मन्त्रालय व्यवस्थापनको कामले देउखुरीका भालुवाङ, लालमटिया, मसुरिया क्षेत्रमा चहल पहलशुरु भएको छ । लुम्बिनी प्रदेश सभाको प्रथम बैठक सोमबार दिउँसो १ बजे राखिएको छ । नव निर्मित भवनमै प्रदेशको पहिलो अधिवेशनको पहिलो बैठक बस्नेछ । पहिलो संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन् । उनी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य छन । ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिक प्रणालीबाट निर्वार्चित सांसदहरू छन् ।
यसपटक नेकपा एमाले २९ सदस्यसहित सबैभन्दा ठूला दल बनेको छ । नेपाली कांग्रेसका २७ र माओवादी केन्द्रका ९ जना सांसद छन । राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, लोसपा र जनता समाजवादी पार्टीका ३/३ सांसद रहेका छन् । प्रत्यक्षमा कुनै सिट नजितेका राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले समानुपातिकबाट एक/एक सांसद जितेका छन् । त्यस्तै स्वतन्त्रबाट तीन सिट जितेका छन् । उनीहरू सबै माओवादीबाट बिद्रोह गरी निर्वाचनमा उठेका थिए । लुम्बिनी प्रदेशमा मुख्य मन्त्री पाउने सम्भावना एमाले र माओवादी केन्द्र बलियो देखिएको छ ।