नेपालगञ्ज-पुष १४ गते ।बाँके जिल्लासहित तराईमा हुस्सु कुहिरोका कारण अत्याधिक चिसो बढेको छ । मंगलवारदेखि बाक्लो हुस्सुका कारण घाम लाग्न नसकेपछि अत्यधिक चिसो बढेको हो । एक्कासी भएको मौसम परिवर्तनका कारण चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो । चिसो छल्न सर्वसाधारण चोक चोकमा आगो बालेर बसेका छन् ।
चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको रिक्सा चालक नेपालगञ्ज–१७ परसपुरका उमर अलि बेह्ननाले बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सवारीसाधन कम गतिमा बत्ती बालेर गुड्नुपरेको छ, हुस्सुले दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सावधानीपूर्वक रिक्सा चलाउने गर्छौँ ।
बाक्लो हुस्सु लागेपछि यहाँका हवाई उडान सेवा प्रभावित हुन थालेको छ । बाक्लो हुस्सु लागेपछि दुई दिनदेखि राँझा विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो । दिउँसोको समयमा भने हवाई सेवा नियमित भइरहेको नेपाल नागरिक उड्डयन कार्यालय बाँकेले जनाएको छ ।
चिसो बढेपछि बालबच्चाहरुलाई विद्यालय जान समस्या भएको बाँके नेपालगञ्ज–१७ परसपुरको पुर्ब वडा अध्यक्ष अजय कुमार पाठकले लिमरा खबरलाई बताए । चिसोले गर्दा विद्यार्थीहरु विद्यालयको पोशाकमा विद्यालय जानू पर्ने बाध्यता छ । कतिपय विद्यालयले जाडोका लागि स्वीटर, कोट, ब्लेजर र ट्राउजरमात्रै विद्यार्थीले लगाउन पाउने नियम बनाएका छन् । विद्यालयका यस्तो नियमले चिसोमा विद्यार्थीले समस्या खेपिरहेका छन् । आदर्श मा.बि.का विद्यार्थी हुसैन खानले बताए।