बारा-पुस १३ गते- भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को हराएको एसएमजी, म्यागजिनसहितको हतियार बारास्थित नेपाल भारत सीमा क्षेत्रबाट बरामद भएको छ । सोमबार साँझदेखि हराइरएको हतियार भारतीय विशेष सिमा सुरक्षा वलको हतियार सर्ट मेसिन गन एसएमजी नेपालमा फेला परेको हो ।
सशस्त्र प्रहरी वलको विशेष सहयोगमा उक्त हतियार नेपालबाट फेला परेको छ । भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्ला अठमोहन स्थित तैनाथ एसएसबीको जी कम्पनीमा कार्यरत एसएबीका असई वृज कुमारले बोकेको ३५ राउण्ड गोली लोड भएको हतियार सोमबार साँझ पौने ७ बजे हराएको थियो ।
भारतीय प्रहरीले हराएको हतियार नेपाल लागिएको हुनसक्ने आशंकामा नेपाल प्रहरीलाई दिएको सूचनाको आधारमा यहाँ पनि हतियारको खोजी कार्यलाई तीव्र बनाइएको थियो । सशस्त्र प्रहरी बल नम्बर २ बाहिनी छिन्नमस्ता बर्दिवासका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले हतियार हराएको सूचना प्राप्त गरेसँगै मातहातका सम्पूर्ण सशस्त्र प्रहरीको टोलीलाई खोजी कार्यमा लाग्न निर्देशन दिएका थिए ।
मंगलबार बिहान सशस्त्र प्रहरीले दिएको सूचनाको आधारमा एसएसबीले घोडासहन थानाक्षेत्र अन्तर्गत कोईरगांवा गाउँछेउ खेतमा फालेको झोलाभित्रबाट एसएमजी १ थान, ३५ राउन्ड गोलीसहितको म्यागजिन बरामद गरेको डीआईजी ठाडा मगरले जानकारी दिनुभयो । हतियार बरामद भएपछि एसएसबीले नेपाली सुरक्षा निकाय तथा सशस्त्र प्रहरी बलप्रति आभार प्रकट गरेको उनले बताए ।