सुर्खेत- पुष ९ गते।
नेपाल पत्रकार मंहासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा घोषणपत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ । पुस ८ गते मा सुरु भएको महाधिवेशनमा देशभरबाट सयौं पत्रकार उपस्थित थिए । कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।
उद्घाटन सत्रमा सहभागी सञ्चारकर्मी एवं पत्रकारलाई राष्ट्रपति भण्डारीले सम्मान पनि गरेकी थिइन् ।महासंघले जारी गरेको सुर्खेत घोषणापत्रका पत्रकारका हकहित सुरक्षा, इन्टरनेटको प्रयोग गरी भइरहेको स्वतन्त्रताको हक हनन, विभिन्न तहका सरकारमा भइरहेका सूचनाको हकको हनन, सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माणमा ढिलाइ जस्ता विषयलाई जोड दिइएको छ ।
साथै, सम्बद्ध निकायहरूलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कानुनी कारबाहीका लागि महासंघले माग गरेको छ । संविधान अनुसारका सञ्चार कानूनहरु तत्काल निर्माण गर्न र पुराना कानुनहरुमा सुधार ल्याउन पनि महासंघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।
साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चार माध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन वृद्धि गर्न सरकारसँग माग गर्दै साधारणसभाले समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न माग गरेको छ ।
साथै, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि साधारणसभाले माग गरेको छ।