काठमाडौँ-पुस ९ गते।
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ र एमालेका सांसद लक्ष्मी महतो कोइरीले संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न हुन नदिन संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।
महोत्तरी १ बाट निर्वाचित कोइरीलाई २०७२ भदौ २५ मा मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेको छ । उच्च अदालत जनकपुरले कोइरीलाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई आदेश दिएको थियो ।कोइरी प्रहरीको फरार सूचीमा छन् ।
यस्तै, मनाङबाट निर्वाचित गुरुङविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन छ। संसद् सचिवालयले अस्ति बिहीबार उनीहरू दुवैलाई शपथ गराएको थियो । दुवै जनाको बारेमा पत्र आएकाले अब संसद्को गतिविधिमा सहभागी नगराइने सांसद सचिवालयले जनाएको छ।