काठमाडौँ-पुस ७ गते
गत कात्तिक १८ गते साँझ परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बालाई ठक्कर दिएर ज्यान लिने मोटरसाइकल चालकलाई जेल सजाय भएको छ। अनामनगरस्थित सिंहदरबार पूर्वी गेटअगाडि बाटो काट्दै गरेकी ३२ वर्षीया सुब्बालाई ठक्कर दिने मोटरसाइकल चालकलाई जिल्ला अदालत काठमाडौंले बिहीबार जेल सजाय सुनाएको हो।
आस्थाको ज्यान लिने प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकल चालक तनहुँको दमौली नगरपालिका २४ वर्षीय मिलन राना अदालतको आदेशसँगै पुर्पक्षका लागि कारागा चलान भएका हुन्। दुर्घटनाका क्रममा मोटरसाइकलका चालक राना पनि घाइते थिए। उनलाई उपचारपछि सिंहदरबार बृत्तको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो।
त्यसपछि अनुसन्धान सकेर प्रहरीले सवारी ज्यानको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल बुझाएको थियो। रानाविरुद्ध यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ अन्तर्गत (२) अन्तर्गत रानाविरुद्ध मुद्दा कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रहरीले रानाविरुद्ध १० वर्षसम्म कैद सजाय माग दाबी गरेको थियो।
उक्त कानुनमा लापरबाहीपूर्वक सवारी चलाउँदा कसैको ज्यान गएमा तीनदेखि १० वर्षसम्म कैद सजाय हुने भनिएको छ। यो मुद्दामा जिल्ला अदालतले तत्काल प्राप्त प्रमाण अनुसार राना निर्दोष ठहर्ने अवस्था नरहेको निचोडसहित जेल पठाउने निर्णय गरेको हो।
दुर्घटनामा ज्यान गुमाएकी अधिकृत सुब्बा मन्त्रालयकी कुशल कर्मचारीमध्ये थिइन्। उनी गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालले नेतृत्व गरेको टोलीको सदस्यका रूपमा न्युयोर्क पुगेकी थिइन्। उनका पति र नाबालक छोरा छन्। साभार नेपालखबर