सप्तरी-पुष ५ गते।
सप्तरीको रुपनीमा मंगलबार बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थिति तानवग्रस्त बनेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनी गाउँपालिका– १ मा आज बिहान ना.१.क ८५४२ नम्बरको टिपरले सोही स्थानका शंकर यादवकी १२ वर्षीया छोरी रिताकुमारी यादवलाई ठक्कर दिएको थियो।
ठक्करबाट विद्यालय गइरहेकी किशोरीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्। चक्काजामसहित प्रदर्शन बढेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । राजमार्ग अवरुद्ध भएपछि अवस्था तनावग्रस्त रहेको र आन्दोलन जारी रहेको स्थानीयको भनाइ रहेको छ ।