धनगढी- पुष ४ गते
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले दिनदहाडै कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको भन्दै ध्यानाकर्षण जनाएको छ। आइतबार साँझ अत्तरियामा व्यापारीमाथि गोली प्रहार भएपछि व्यवसायीहरूले असुरक्षित महसुस गरेका हुन् ।
महासंघका अनुसार करिब साँझ ५ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालयनजिकै गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम (सुनार) माथि मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले सुनारमाथि गोली प्रहार गरेका थिए। साथै उनीसँग साथमा रहेको सुनचाँदीका गर–गहनाहरु र नगद भएको झोला लुटेर लगेका थिए।
व्यवसायी सुनारको हाल धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भइरहेको र खतरामुक्त रहेको पीडितका परिवारजनले बताएका छन्। महासंघले स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुनु सुरक्षा संयन्त्रमाथि नै चुनौती खडा भएको महशुस गरिएको जनाएको छ।
महासंघले भनेको छ, ‘चोरी, लुटपाट आदि घटनाहरु निरन्तर रुपमा भइरहनु र सुरक्षा संयन्त्र माथि चुनौति थपिनुले समग्र गहना व्यवसायीहरु असुरक्षित र त्रसित हुनुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको प्रति महासंघ गम्भीर चिन्ता व्यक्त गर्दछ। महासंघले अनुसन्धान कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाई अपराधमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले पसल बन्द गरेर डेरातिर जाँदै गरेका विकासलाई गोदावरी नगरपालिका २ सशस्त्र प्रहरीको मुख्यालयअगाडि पूर्वबाट पश्चिमतर्फ आउदै गरेको नम्बर नखुलेको सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुईजना व्यक्तिले गोली हानेर उनीसँग रहेको तयारी सुनका करिब ३२ तोला सुन लुटेर फरार भएको बताए । लुटेराहरु को खोज तलास जारी रहेको प्रहरीले जनाएको छ।