काठमाडौं- पुस १, गते।
लामोदुरीका यात्रुबाहक सवारी साधनमा दुई चालक नराख्ने ४१ जना कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाएपछि कारवाही गरेको हो ।ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार ‘ट्राफिक कम्युनिकेसन एप्लिकेस’ मा सुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड हुन्छ।
नागढुंगा नाकासहित सातै प्रदेशका १५ स्थानमा रहेको चेक प्वाइन्टमा डेटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए/नभएको यकिन गर्ने गरिन्छ। सोही एप्लिकेसनको सहायताले चेक गर्दा चालक परिवर्तन नगरेको पाइएपछि ४१ सवारीसाधन कारबाहीमा परेका हुन्।
२०७५ साल माघ २८ बाट सुरु भएको यो चेकिङ केही समय, सञ्चालनपछि कोभिड लगायतले रोकिएकोमा पुनः गत असोज ३१ बाट शुरुवात भएको थियो । पछिल्लो पटक ४१ सवारीसाधनका चालक कारवाहीमा परेको महाशाखाले जनाएको छ उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक ५ घण्टापछि पालै पालोसँग सवारी चलाउनुपर्छ ।
तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रूपमा लामोदुरीका यात्रुबाहक सवारीसाधनमा दुई जना चालकको व्यवस्था छ ।