नेपालगंज-मंसिर २८ गते।
बांकेमा रासायनिक मलको अभाव हुँदा किसानले सास्ती भोग्नु परेको छ। हिउँदे बालीका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ। तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात छ। खेतीपाती गर्ने हरेक समयमा मलको अभाव झेल्नुपर्ने नेपालगंज-१७ परसपुरका किसान इबराहिम बेह्ननाले बताए।
ऊनी हिउँदे बाली लाउने बेलामा मल नपाएपछि उत्पादन घट्ने डरले भारतबाट न्युन गुणस्तरीय मल प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। बांके जानकी-१ का इस्माईल खान भन्छन्, ‘यहाँका स्थानीय संस्थालाई जिम्मा दिएको छ भनेर सरकार पन्छिन खोज्छन, बजारमा मल छैन, साइकल लिएर पारि रुपईडिहा (भारत) गएर एक बोरा गुणस्तरहीन भए पनि मल ल्याउनैपर्ने बाध्यता छ। सरकारले साल्ट ट्रेडिङ र नेपाल कृषि सामग्री कम्पनी मार्फत सहकारीलाई मल प्रदान गर्दै आएका छन्। ती सहकारीहरूले आफ्ना सदस्य र नजिकका व्यक्तिलाई मात्रै मल बिक्री गर्ने गरेको आरोप लाग्दै आएको छ।
जिल्लामा हालसम्म नौ सय ८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रमेशकुमार पौडेलले बताए । उनका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट एक सय ३१ दशमलव आठ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ । साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन सुरु गरेको पौडेलले बताए ।
हालसम्मको अवस्था हेर्दा यस पटक पनि बाँकेमा किसानलाई मलको अभाव हुने देखिएको छ । मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था छ । व्यक्तिगत प्रयोगका लागि भारतीय बजारबाट मल ल्याउने किसानलाई सहजीकरण गर्न प्रशासनसँग अनुरोध गरिएकाले केही राहत हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । जानकी गाउँपालिका र नेपालगञ्जका सहकारी संस्थालाई पनि छिट्टै मल वितरण गरिने कृषि सामग्री ले जनाएको छ ।