जाजरकोट-मङ्सिर २७ गते।
जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका कर्ममा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी गराए।
कर्णाली प्रदेश-२००१ च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो । घटना लगत्तै दशेराबाट गएको प्रहरी टोली र स्थानियले उद्धार गरेका थिए। क्षमताभन्दा बढी यात्रु र तीव्रगतिमा रहेको जीप चालकको नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको प्रहरीको अनुमान छ। पाँच जनाको क्षमता रहेको गाडीमा १२ जना चढेका कारण पनि जीप अनिन्त्रित भएको हुन सक्ने स्थानीय जगत थापाले बताए।
मृतकको पोष्टमार्टमका लागि इलाका स्वास्थ्य चौकी दशेरा लगिएको निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद भण्डारीले जान कारी दिनु भयो।