धनुषा- मंसिर २२ गते
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा रहेकाे एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ ।
महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा गएराति आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर करिब ३० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिनुभयो ।
मिथिला नगरपालिका २ का हिरा महतोले सन्चालन गरेको सो पसलमा बुधबार राति करिब साढे १२ बजे आगलागी भएको थियो । मिथिला नगरपालिका ढल्केबरबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा बिहीबार बिहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।