काठमाडौं-मंसिर २२,गते
दक्षिणको टोली २४ घण्टा तैनाथ, एउटा हराउनका निम्ति, अर्को जिताउनका निम्ति । सप्तरी– २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउन र त्यहीँबाट जनमत पार्टीका सिके राउतलाई जिताउनका निम्ति यस्तो गरिएको थियो ।
एकथरिले ‘हामी छौँ दाइ’ भन्दै उचाल्नु उचाले, मैदानमा पुग्दा तिनका नाक–मुख देखिएनमात्रै हैन, सोच्दै नसोचेको मतान्तरसाथ उपेन्द्रले चुनाव हारेर फर्किनुपरेको छ । उनलाई पार्टीका नेताहरुले सकेसम्म बारा– २, नभए सुनसरी– ४ बाट चुनाव लड्न सुझाव दिएका थिए । तर, राजविराज पुग्दा त्यहाँका कार्यकर्ताले जबरजस्तीकै शैलीमा सप्तरी– २ छाड्नै हुँदैन भने । जिताउलान् भनी उनले माने पनि । तर त्यसरी बिन्तीभाउ गरेर सप्तरी लानेहरू मनोनयन दाखिला गरेकै दिनदेखि गायव ।
जसपा नेताहरूका अनुसार त्यहाँ उपेन्द्रविरुद्ध काम गर्न ‘रअ’ को दुई–तीनवटा टीम तैनाथ थियो । र, सिकेको पक्षमा प्रोपोगण्डा टीम अलग्गै लाग्यो । सप्तरी– २ मा माओवादीको भोट राम्रो थियो । ती मतलाई विभिन्न किसिमले प्रभावित पारेर सिके राउततिर लगियो र उपेन्द्र यादवलाई हराइयो ।
लोसपाबाट जेपी ठाकुर उम्मेदवार थिए । उनको १० हजार मत मात्रै आयो । त्यताको सारा मत रातारात सिकेतिर खन्याइयो । यसरी त्यहाँ जसरी पनि उपेन्द्र हराऊ अभियान नै छेडियो । भारतीय गुप्तचर संस्था ‘रअ’ को टीम काठमाडौंमा लामो समय बसेर वीरगञ्ज, सप्तरी हुँदै विभिन्न निर्वाचन क्षेत्रको सुक्ष्म अध्ययनमा थियो । पछि चितवन गएर २० जनाको टोली बस्यो, विनोद चौधरी र उमेश श्रेष्ठको स्थिति बलियो बनाउन ।
अर्कातिर तराईमा जनमत पार्टीका मान्छेहरुले किसानका कुरा, मल र बीउका कुरा उठाएका थिए र जनताको बीचमा पुगेका थिए । उपेन्द्र यादवहरुले भने काठमाडौंमा अन्तिमसम्म पनि सरकारमै बसेर ढलिमली गरिरहे । उनी यसरी १७–१८ हजार भोटले हार्नु अस्वाभाविक हो ।
निकटस्थहरुले उपेन्द्रलाई पहिल्यै भनेका थिए, ‘रअ’ ले अगाडि जान दिँदैन है ! त्यहाँ खेल्ने ठाउँ छ । किनभने, स्थानीय निर्वाचनमै जनमत पार्टीको ९ हजार भोट थियो । त्यसैले कांग्रेस, माओवादी र लोसपाको मत डाइभर्ट हुनेबित्तिकै हारिन्छ भनिएको थियो । बारामा रामसहायप्रसाद यादव थिए । उनलाई प्रदेशमा उठाएर मुख्यमन्त्रीका रुपमा अगाडि सारौँ, उनी भ्रष्टाचारमा सक्रिय छैनन् भन्दै नेताहरूले उनीसँग कुरा गरे पनि । तिमी भर्खरै वनमन्त्री भएको, जिते पनि फेरि मन्त्री हुने हैन । बरु, प्रदेशमा गएर मुख्यमन्त्री हुनुभन्दा उनी त तयार भए । तर, उपेन्द्र त्यता चुनाव लड्न गएनन् ।
यसचोटि उपेन्द्रले त्यसरी नै मार खाए, जसरी ०७२ सालमा भारतीयहरुले सुशील कोइरालालाई शक्तिहीन बनाइदिएका थिए । संविधान जारी भएपछि सुशील राष्ट्रपति, ओली प्रधानमन्त्री हुनुपर्ने थियो । तर, ‘रअ’ का मान्छेले रातदिन बालुवाटारमा घेरे र तपाईं प्रधानमन्त्री बनिहाल्नुहुन्छ भन्दै उकास्दा राष्ट्रपति र प्रधानमन्त्री दुवै पद गुम्यो । उपेन्द्रले पनि अहिले आएर चक्रव्युहमा फसेँ भनेका छन् । एमालेसँग सम्झौता हुँदा केपीले ‘सप्तरी– २ मा एमालेको मत छैन, अप्ठेरो हुनसक्छ । बरु, सुनसरी– ४ मा आउनुस्’ भन्नुभएको रहेछ । सुनसरी आफ्नो घर–बास पनि भएको ठाउँ हो । बारा– २ गएको भए निकै सजिलो हुन्थ्यो । तर, उपेन्द्रको मति बिग्रियो ।
यसचोटि जसपालाई ठूलो घाटा भयो– मधेस सरकार गयो । प्रदेश १ बाट शून्यमा गयो । एमालेले जहाँ दियो, त्यहीँ सिध्यायो । मोरङ क्षेत्र नंं. ४ को (ख) जसपालाई दिइँदा जीवन घिमिरेलाई कसरी व्यवस्थापन गर्नुहुन्छ भनी सोधिएको थियो । उनी ओलीलाई मन नपर्ने मान्छे । बाहिरै राख्न खोजिएको तर मनोनयनको दिन विनोद ढकाल प्रतिनिधिसभामा उठ्ने निश्चित भएपछि जीवनलाई लिएर दमक पुगे । उनले जीवनलाई टिकट नदिने भए म हार्ने भएँ भने । ओलीले ‘जसपालाई दिइसकियो’ भन्दा ‘जसपालाई धोका दिँदा पनि केही फरक पर्दैन’ भन्दै जीवनको नाममा टिकट लेखियो । त्यसअघि जीवनले विनोदलाई हराउँछु भनेर धम्क्याएका रहेछन् । क्षेत्र नं. ६ को (ख) मा पनि त्यस्तै भयो । क्षेत्र नं. ५ को प्रतिनिधिसभा जसपालाई दिइएको थियो । त्यहाँ पहिलो र दोस्रो एमाले र जसपा हो । तर, एमालेले स्वतन्त्र बनाएर योगेन्द्र मण्डललाई उठायो । सुनसरी ४ को (ख) दिइएकोमा त्यहाँ कांग्रेसले जित्यो । मधेस प्रदेशमा पनि दिइएका जति प्रायः ठाउँमा एमालेले हराइदियो ।
जन आस्था बाट