बांके-मंसिर २१ गते
बांके जिल्लाको जमुनहासँगै सीमा जोडिएको भारतीय बजार रुपईडिहामा करिब ६५ लाख रुपैयाँ बराबरको लागुऔषधि सहित एक जना नेपाली पक्राउ परेका छन् ।
अदर्श थाना रुपाईडिहाका अनुसार मंगलवार १ बजे स्टेशनरोडको माल गोदामबाट ६५ लाख नेपाली रुपैयाँ बराबरको १३२ ग्राम स्मेकसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ बसुदेवपुरका सागर भन्ने व्यक्ति पक्राउ परेका हुन् ।
उत्तर पर्देस जिल्ला बहराईचले सञ्चालन गरेको अपराध एवं अपराधी रोकथाम अभियान अन्गर्तत मंगलवार राती गस्तीमा रहेको टोलीले स्मेकसहित सागरलाई पक्राउ गरेको हो। अदर्श थाना रुपईडिहाका प्रभारी निरीक्षक श्रीधर पाठकको नेतृत्वमा वरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिंहसहितको गस्ती टोलीले रेलवे मालगोदाम रोडबाट शंका लागेर जाँच गर्दा सागरको पेन्टबाट उक्त स्मेक फेला पारेको थियो ।
पक्राउ परेका सागरले दिएको बयानका आधारमा संलग्न अन्य व्यक्तिको पनि नाम र ठेगानाको भारतीय प्रहरीले पहिचान गरेको छ । सागरविरुद्ध रुपईडिहा थानामा मुद्दा दर्ता गरी बुधवार जिल्ला अदालत बहराईच पठाइएको भारतीय रुपईडिहाका संचारकर्मीले जनाएका छन् ।