बैतडी-मंसिर १८,गते
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् ।
प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो । बिदामा घर आएका बेला मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनको खोजी प्रहरीले तिब्र पारेको थियो ।
मङ्सिर १३ गते बैतडीमा मायाको घाँटी रेटेर हत्या गरिएको थियो । मायाको साथमा रहेकी नेहा लुहारको समेत घाँटी रेटेर हत्याको प्रयास गरिएको थियो । घाइते अवस्थामा भेटिएकी नेहाको अहिले उपचार भइरहेको छ । कास्कीको पोखरामा रहेकाे हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत कोली बिदामा घर आएका बेला याे घटना घटेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा मुद्दा चलिरहेकाले कोलीलाई आजै बैतडी पठाउने तयारी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।