कतारमा जारी २२औं विश्वकप फुटबलमा ब्राजिल र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका छन्। सोमबार राति भएका दुवै खेलमा विजयी भएका दुवै टिम अन्तिम १६ मा प्रवेश गरेका हुन्।
सोमबार राति ९:४५ मा स्विट्जरल्यान्डसँग ब्राजिल १–०ले विजयी भएको थियो। खेलको ८३ औं मिनेटमा ब्राजिलका लागि क्यासेमिरोले गरेको गोल जितका लागि निर्णायक भएको थियो। स्विटजरल्यान्डले केही मौका पाए पनि गोल फर्काउन भने सकेका थिएना।
एक खेल बाँकी रहँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो। समूह ‘जी’मा ब्राजिल ६ अंकसहित शीर्षस्थानमा छ। यो समूहमा स्विट्जरल्यान्डको २ खेलमा ३ अंक तथा क्यामरुन र सर्बियाको समान १/१ अंक रहेको छ। हिजो भएको खेलमा सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरी खेलेका छन् । यता फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ। ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० गोलले पराजित गरेको थियो।
पोर्चुगल पनि एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको छ। मध्यराति १२:४५ मा भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान बनाएको हो।