बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उमेदवारको जमानत जफत भएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४ सय ३ मत मात्रै पाएका छन् । यो क्षेत्रमा राप्रपाका धवलशमशेर राणा विजयी भएका छन् । उनले २९ हजार ५ सय ७७ मत ल्याएका छन् । राप्रपालाई एमालेको समर्थन थियो ।
दोस्रोमा रहेका जसपाका नेता मोहम्मद इस्तियाक राईले २३ हजार ५ सय २० मत ल्याएका छन् । स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो पार्टी थियो । समानुपातिक तर्फ भने कांग्रेसले १० हजार १ सय ९८ मत ल्याएको छ । यो क्षेत्रमा समानुपातिकतर्फ सबैभन्दा धेरै जसपाले २० हजार २ सय ५१ मत ल्याएको छ । दोस्रोमा रहेको राप्रपाले ११ हजार ३ सय ८० मत पाएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।प्रतिनिधिसभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ ।
तिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकाको दफा ६४ मा भनिएको छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले दफा २० बमोजिम दाखिला गरेको धरौटी जफत हुनेछ ।’