काठमाडौँ — युरो २०२० अन्तर्गत बुधबार महत्त्वपूर्ण ४ वटा खेल हुँदैछन् । राति १२ : ४५ बजे बुडापेस्टमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलविरुद्ध फ्रान्स र म्युनिखमा हुने खेलमा जर्मनीविरुद्ध हंगेरीले प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै पहिलो खेलमा राति ९ : ४५ बजे डब्लिनमा स्विडेनविरुद्ध पोल्यान्डले र सेभियामा स्लोभाकियाविरुद्ध स्पेनले प्रतिस्पर्धा गर्नेछ ।
सुरुका दुई खेलमा बराबरी खेलेको स्पेनले युरो २०२० को नकआउट चरणमा स्थान बनाउन स्लोभाकियालाई हराउनै पर्ने हुन्छ । पोर्चुगलमाथि सानदार जितपछि प्रतियोगितामा पुनरागमन गरेको जर्मनीका लागि समूहको अन्तिम खेलमा हंगेरीलाई हराउनुपर्ने हुन्छ ।
फ्रान्स बुधबार बल प्रहार नगरेर नै अर्को चरण पुगिसकेको छ । पोर्चुगल पराजित रहेर पनि अर्को चरण पुग्न सक्नेछ । विश्वकप विजेताविरुद्ध युरोपेली विजेताबीचको ‘महाभिडन्त’ ले यस्तो रूप लेओस् भनेर कमैले चाहेका थिए ।
आखिरमा यो क्रिस्टियानो रोनाल्डोविरुद्ध केलियन एमबाप्पेबीचको खेल पनि हो । समूह ‘एफ’ को यो खेलमा जित निकाल्न सके फ्रान्स समूह विजेता बन्नेछ । एक गोलको हारले पोर्चुगललाई खासै फरक पार्ने छैन । तर यसका लागि समूहकै अर्को खेलमा हंगेरीले जर्मनीलाई पराजित नगरोस् ।
जर्मनी र हंगेरी दुवै एक आपसमा सामना गर्दा एउटै लक्ष्य हुनेछ, प्रतियोगिताबाट बाहिरिने सम्भावना टार्ने । यसका लागि हंगेरीलाई जित नै आवश्यक छ भने जर्मनीलाई जित नचाहिन सक्छ । सन् १९५४ को विश्वकपपछि जर्मनी र हंगेरी पहिलोपल्ट कुनै ठूलो प्रतियोगितामा खेलिरहेका छन् । त्यस ऐतिहासिक खेललाई अहिलेसम्म पनि ‘बर्नको चमत्कार’ का रूपमा सम्झिने गरिन्छ । तत्कालीन पश्चिम जर्मनीले हंगेरीलाई त्यतिबेला ३–२ ले हराएको थियो ।