बांके-मंसिर ४ गते
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।
देशभरि एकैचरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुनेछ। आयोगले मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि सुरू हुने निर्वाचनमा सहभागी हुन र निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ। बिहान ७ बजे सुरू भएपछि बेलुका ५ बजेसम्म मतदान गर्न पाइनेछ।
निर्वाचनका लागि देशभरि का मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बाँकेमा पनि मतदानको तयारी अन्तिम चरणमा पुगेको छ। तीन दिनअघि नै मतदान केन्द्रमा पुगेका सुरक्षाकर्मी तथा आयोगबाट खटिएका कर्मचारीहरूले त्यसको तयारी गरिरहेका छन्। ३ संघ तथा ६ प्रदेश क्षेत्र रहेको लुम्बिनी प्रदेशको बाँकेमा मंसिर ४ गते हुने निर्वाचनमा बाँकेबाट करिब साढे ३ लाख ३२ हजार २ सय ३१ मतदाताले मतदान गर्न पाउनेछन् ।
बाँकेमा ३ ओटा निर्वाचन क्षेत्र रहेको संघतर्फ ३ वटा र प्रदेशतर्फ ६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।निर्वाचन आयोगले निर्वाचन पूरा गर्नका लागि बाँकेमा कुल मतदाता रहेको ३,३२,२३१ र मतदान केन्द्र १३९ तय गरेको छ ।
बाँकेका कुन निर्वाचन क्षेत्रमा कति मतदाता ? बाँके
१ (१) ५५८४५
१ (२) ६५२५५
२ (१) ५०३१३
२ (२) ४७४९६
३ (१) ६१५९६
३ (२) ५१७२६
बाँकेमा १ सय २९ मतदानस्थल बनाइएका छन्। तिनमा १ सय २४ निर्वाचनस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । खुला सीमा क्षेत्र, साना हतियारको बिगबिगी र निर्वाचन विरोधी समूहको प्रभावले आसन्न निर्वाचनका लागि बाँके जिल्ला संवेदनशील जिल्लामा राखिएको छ । निर्वाचन सुरक्षाका लागि बाँकेमा २ हजार ५ सय ४१ सुरक्षाकर्मी खटेका छन्। १ हजार ५ सय ५९ म्यादी खटाइएको छ । जिल्लामा निर्वाचनलाई शान्ति र निर्भययुक्त बनाउन संवेदनशील क्षेत्रमा थप सुरक्षा संवेदनशीलता अपनाउने र जनशक्ति प्रयोग गर्ने तयारी रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूय बहादुर खत्रीले जानकरी दिए ।
खुल्ला सीमा भएकाले सीमा बन्द गरिएपनि नागरिक ओहोरदोहोर गर्ने धेरै बाटाहरु छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले भने भारतीय सुरक्षाकर्मीसँग पटकपटक बैठक बसेर उताको सीमा र यताको सीमामा आआफ्ना सुरक्षाकर्मीलाई गस्ती गराउने र सीमा क्षेत्र सिल गर्ने निर्णय भएअनुसार कार्यान्वयनमा लैजाने बताए ।
जिल्लामा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले यसअघि निर्वाचन बहिस्कारसहितका कार्यक्रम तथा केही स्थानमा विस्फोट गरेकाले केही त्रास देखिएको छ । यस्ता त्रासले एकातिर नागरिकलाई मतदान प्रक्रियामा जान रोक्ने र अर्कोतर्फ निर्वाचनविरुद्ध त्रास र अफवाह फैलाउने काम गर्नसक्ने चिन्ता सुरक्षा अधिकारीहरुको छ ।
निर्वाचनलाई लक्षित गरी गृह मन्त्रालयले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरुलाई शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिवद्ध गराएको छ । यसअघि गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा प्रदेशको सुरक्षा तयारी बैठक बसेर विभिन्न योजना भने बनाएको छ ।