बांके-कार्तिक २३ गते
नेपालका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा मंगलबार मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ । राति ९ः०७ मा दीपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। सुर्खेत, बाँके बर्दिया, दाङ कास्की, तनहुँ,लगायत जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक–पटक धक्का महसुस भएको थियो।
भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले बताए। मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए । उनले भने राति हुनाले केही जानकारी आउन सकेको छैन ।