नेपालगंज-कार्तिक १३ गते
समाचार रिर्पोटिङ्ग क्रममा नेपालगञ्जमा पत्रकार माथि आक्रमण भएको छ । समाचार संकलनका क्रममा एक्सप्रेस सिटी मिडिया हाउस प्र. लि. द्वारा संचालित एक्स्प्रेस सिटी न्यूज डटकमका प्रधानसम्पादक अमित गुप्ता माथि सामुहिक रुपमा भएको आक्रमण प्रति उक्त मिडियाले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्तिक १० गते बिहान करिब ११ बजे बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ नन्दई गाँउ नजिकै तस्करी भईरहेको जानकारी हुदाँ सम्पादक गुप्ता सम्बन्धित क्षेत्रमा पुगेको बेला अकस्मात पछाडिबाट सामुहिक आक्रमण भएको मिडियाका निर्देशक रामदिन तेलीले जानकारी दिए ।
त्यस बेला उनी माथि करिब ६ जनाको समुहले ज्यान मर्ने गरि कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट गर्दा सम्पादक गुप्ताद्धारा खिचिएका फोटाहरु डिलिट गरेर मोबाइल समेत फुटाई दिएका छन । गुप्ताको हात भाचिएको छ भने अन्य शरीरका विभिन्न अंगमा निलडाम बसेको छ ।
नाजुक अवस्थामा पुगेका गुप्तालाई उपचारका लागि भारतको बहराईच लगिएको थियो भने हाल उनी अहिले बेडरेस्टमा रहेका छन । नेपाल संविधानले व्यवस्था गरे अनुरुप सम्पादक गुप्ताले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा यस्तो जघन्य अपराधिक गतिविधिमा संलग्न आरोपीहरुलाई यथाशिघ्र कानुनी दायरामा ल्याई स्वतन्त्र पत्रकारिता प्रत्याभुति गराउन सम्बन्धि निकाय समक्ष एक्सप्रेस सिटी मिडिया हाउस ले माग गरेको छ ।