धनुषा- कार्तिक १३,गते
छठका लागि धनुषाको जनकपुरमा तीन करोडको भारतीय केरा भित्रिएको छ । छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ । स्वदेशी उत्पादनले माग धान्न नसक्दा भारतीय केरा भित्रिएको हो । छठ पर्वमा सिङ्गै केराको घरी नै चढाउने परम्परा छ । त्यसैले केराको माग उच्च हुन्छ । स्वदेशी उत्पादन कम हुँदा हरेक वर्ष भारतको भर पर्नुपर्ने अवस्था रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका सद्स्य अलि अहमदले बताउनुभयो । छठका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै तीन करोड बराबरको केरा आयात भएको छ । केराको भाउ पनि बढेको छ ।
जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीका भारदह, भन्टावारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको छ । बजारमा घरीलाई पाँच सयदेखि एक हजार मूल्यमा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनको लागि तराई/मधेस वा समग्र नेपालको जग्गा जमिन राम्रो मानिन्छ । तर चाडपर्वको समयमा भारतकै भर पर्नुपर्ने अवस्था छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केरा खेती उत्पादन हुँदै आएको छ ।