काठमाडौं-कात्तिक,११ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनका लागि जसपाले संघीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए ।
प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेका छौं,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउने र समानुपातिक समावेशिता र पहिचानको अधिकारलाई सुनिश्चित गर्ने विषयमा हाम्रो मुख्य ध्यान केन्द्रित रहेको छ ।
जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणा घोषणापत्रमा समेटेको छ । कृषिको आधुनिकीकरण गरी आन्मनिर्भर उत्पादनलाई प्राथमिकता दिइने छ । आगामी निर्वाचनका लागि तयार गरिएको पार्टीको चुनावी घोषणापत्र छठ सकिएलगत्तै सार्वजनिक गरिने प्रवक्ता सुमनले बताए ।
जसपाले समतामूलक समाजको निर्माणसँगै समानता, स्वतन्त्रता, भाइचारा, सामाजिक न्याय तथा भ्रातृत्वको उच्चतम् अभ्यास गर्दै संघीयता, समावेशी एवं सहभागितामूलक लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समतामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको छ ।
देशमा गरिबी बेरोजगारी र अशिक्षाको अन्त्य गरी शिक्षा, स्वास्थ्य, आवास, रोजगार र सुरक्षामा सबैको समान पहुँच र आधिकारको प्रत्याभूति गराउने, सामाजिक न्याय स्थापित गर्दै सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायका जनताको हित रक्षाका लागि काम गर्ने घोषणापत्रमा उल्लेख छ ।