बांके-कार्तिक,४ गते
मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आउन अब ठीक १ महिना बाँकी छ । यसबीचमा चुनावी प्रतिस्पर्धामा उत्रिएका गठबन्धन दलसहित प्रतिपक्षी एमाले, जसपा, राप्रपालगायत दलहरु निर्वाचन प्रचारका कार्यमा व्यस्त देखिएका छन् ।
निर्वाचन घोषणा भएसँगै बीचको समयमा विभिन्न चाडपर्व परेकाले दलहरु चाडवाडकै बहानामा शुभकामना आदान–प्रदानलाई विषय बनाएरै पनि कार्यकर्ता र मतदाता भेट्नमा व्यस्त देखिन्छन् । चौतर्फी बढिरहेको चुनावी सरगर्मीका बीच जति ठूला भनिएका दलहरुको चर्चा हुने गरेको छ, साना भनिएका दल र स्वातन्त्रतर्फका उम्मेद्वारले पनि चुनावलाई उसैगरी उपयोग गर्ने दाउमा छन् ।
ठूला दलहरु राष्ट्रिय एजेण्डा र विकास, समृद्धिको नारा लिएर जनतामाझ गइरहेका छन् भने साना दल पहिचान, अधिकारसँगै विकासका नाउँमा बिगतमा भएका भ्रष्टाचार, अनियमितताका विषयलाई मुद्दा बनाउन उद्दत छन् । यता स्वतन्त्र उम्मेद्वारहरु भने देशमा उत्पन्न सबै समस्या दल र दलका बुढा नेताहरुको असक्षमता र अकर्मण्यताको उपज हो भन्ने आरोपसहित दलीय सत्ताबाट वाक्कदिक्क भएका मतदाताहरुको ध्यान आफूतर्फ आकर्षित गर्ने योजनामा छन् ।
त्यस्तै सत्ता गठबन्धन छोडेर एमालेसँग केही स्थानमा तालमेल र बाँकीमा आफ्नै दलका उम्मेद्वारसहित निर्वाचनको तयारी गरिरहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पनि मधेस प्रदेशका विभिन्न स्थान र पहाडी क्षेत्रहरुमा पनि व्यापक चुनावी तयारीका कार्यक्रम गरिरहेको छ । दल र दलका उम्मेद्वार बाहेक स्वतन्त्रतर्फका उम्मेद्वारहरुले पनि चुनावी अभियानलाई भौतिक र सामाजिक सञ्जालहरुमार्फत व्यापकता दिएको देखिन्छ ।