नेपालगंज-भदौं २९ गते
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ इन्द्रपुरमा बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज–गुलरिया सडकको शिलान्यास गर्नुभयो । मन्त्री राईले शिलान्यास गरेको सडक ३२.९ किलोमिटर लम्वाईको रहेको छ । जस मध्ये २२.७ किलोमिटर चारलेन को १०.२ किलोमिटर दुईलेनको निर्माण गरिनेछ । यस सडक मध्ये १.८ किलोमिटर चारलेन सडक निर्माण भईरहेकाले ३१.१ किलोमिटर सडक निर्माण हुनेछ । वस्ती भएको ठाऊमा चारलेन र बाँकी क्षेत्रमा दुईलेन सडकको निर्माण हुने छ । सोही सडक खण्डको खजुरामा चारलेन सडक निर्माणमा ढिलाई भएकोप्रति गुनासो आएपछि मन्त्री राईले २४ घण्टे स्पष्टिकरण पठाउन मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायतका कर्मचारी नेतृत्वलाई निर्देशन दिनुभयो । स्पष्टिकरण पत्र प्राप्त भएपछि ठेक्का सम्झौता रद्द गर्नेसम्मको कारवाही गर्न उहाँले निर्देशन दिनुभयो ।
बर्दिया १ का प्रतिनिधीसभाका सांसद सञ्जय गौतमले नेपालगञ्ज र बर्दियालाई नजिक बनाउन सडकको निर्माण आवश्यक रहेको बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको अध्यक्षतामा कार्यक्रम भएको । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, लुम्विनी प्रदेशका सांसद भुवनेश्वर चौधरी, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्यवहादुर विष्ट, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक लगायतले बढ्दो दुर्घटना न्यूनीकरणमा सडक निर्माणमा पनि सहयोग पुग्ने बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले मन्त्री राईको खुलेर प्रशंसा गर्नुभयो । नेपाली काँग्रेसका नेता खाँले मन्त्री राईका कारण बाँकेमा धेरै विकास निर्माण प्राप्त भएको भन्दै जिल्लाबासी मन्त्री हुनु बाँकेबासीका लागि फाईदा भएको बताउनुभयो । विष्टले राई मन्त्री भएको केही दिनमै धेरै योजना अघि बढेको भन्दै सबै योजनामा बजेट निश्चित रहेको बताउनुभयो । उहाँले खजुरा रोडमा साईकल लेनको प्रस्ताव पनि गर्नुभयो ।
विगत लामो समयदेखि चर्चामा रहेपनि काम अघि बढन नसकेको नेपालगन्जको धम्बोझीदेखि खजुरा हुँदै गुलरियासम्मको सडकलाई स्तरउन्नतीका लागि मन्त्री राईको सक्रियता र पहलमा शिलान्यास गरिएको छ ।