नेपालगञ्ज-भदौ २६ गते
नेपाल सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले २०७९ भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन पाउने गरी एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो म्यादीको कार्यअवधि ४० दिनको हुनेछ ।आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र चार वटै सुरक्षा निकाय चुनावी सुरक्षा तथा व्यवस्थापनमा जुटि सकेका छन् । त्यही क्रममा प्रहरी प्रधान कार्यालयले आज म्यादी प्रहरी भर्ना आह्वानको सूचना सार्वजनिक गरेको हो ।आवेदन उपत्यकासहित काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरसहित देशभरका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन पाइनेछ ।
आवेदन दिन नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय नपाएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ, आतंककारी संगठनको सदस्य नरहेको, आँखाको हेर्ने क्षमता माइनस २ वा प्लस २ भन्दा कमजोर नभएको, पुरुषको हकमा ५ फिट २ इन्च र महिलाको हकमा ५ फिट उचाइ भएका, गर्भवती नभएका नरहेकाले आवेदन दिन सक्ने न्यूनतम योग्यता निर्धारण गरिएको छ ।
यसैगरी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन तथा २०७४ का स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्यादीमा भर्ना भई सन्तोषजनक काम गरेका, सेना, प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का उपदान र निवृत्तिभरणमा निस्केका पूर्व सुरक्षाकर्मीहरू, पूर्ववन रक्षकहरू, विदेशी सुरक्षा निकायमा काम गरेको अनुभव भएका तथा २०७९ भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिलाई म्यादी छनौटको प्राथमिकतामा राखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दरखास्त अवधि सकिएको भोलीपल्ट अर्थात् असोज ७ गते आबेदन दिएको ठाउँमा सम्पर्क राख्नु पर्नेछ ।
असोज ९ देखि १४ सम्म भर्ना छनोट गरिसक्नु पर्नेछ । त्यसबीच दशैं परेकोले म्यादी भर्नाको नतिजा भने असोज २५ मा मात्रै गरिनेछ । यसरी छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्ममा तालिम गराएर कात्तिक ९ बाट चुनावी सुरक्षामा परिचालन गरिनेछ ।