काठमाडौं-भदौ,२५
पांच दलिये गठबन्धनका शीर्ष नेताहरुको बैठक भोलिसम्मलाई स्थगित गरिएको छ । गठबन्धनको एक प्रमुख घटक जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो । बैठक भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको थियो ।
काठमाडौं उपत्यकामै भएका नेताहरु पनि निर्धारित समयमै जुट्न सकेनन् । साँझ ६ बजेसम्म पनि नेताहरु बालुवाटारमा जाने क्रम चलेको थियो । बालुवाटारमा भेला भएका नेताहरु जनकपुरमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रतीक्षा गर्दै उनी आएपछि बैठक सुरु गर्ने भन्दै बसिरहे । तर यादव रात परिसक्दा पनि आउन सकेनन् ।