नेपालगञ्ज-भदौ २३
नेपालगञ्ज उपमहानगरपालिका मा छाडा पशु चौपायाको समस्या समाधानका लागि पहल अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आज सर्वपक्षीय बैठक आयोजना गरी छाडा पशु चौपायाको दीर्घकालीन र अल्पकालीन समाधानका लागि योजना बनाएको छ। बैठकको निर्णय अनुसार यही भदौ महिनाभित्र पशु चौपाया गाई, गोरु, गधा, खच्चड, घोडा, सडकमा नछोड्न आग्रहसहित माइकिङ सहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ । भदौ मसान्तपछि पशु चौपाया लाई छोड्नेलाई कारवाही गर्ने पशु चौपायालाई राख्नका लागि अस्थायी संरचना बनाएर ब्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए । छाडा पशुु चौपायाका कारण नेपाल गंज को ट्राफिक ब्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायालाई अन्यत्र राखेर अल्पकालीन ब्यवस्थापनमा तत्काल जुटेको बताए ।प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सीमापारीबाट छाडा पशु चौपाया आउन नदिनका लागि सीमा मा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले छाडा पशु चौपायाको ब्यवस्थापनका लागि अन्तरपालिका संग समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताए । नगर उपप्रमुख कमरुद्दिन राईले छाडा पशु चौपायाको ब्यवस्थापनका लागि उपमहानगरपालिका अब कडाईका साथ प्रस्तुत हुने बताए । गाईगोरुलाई नियन्त्रणमा लिएर काञ्जीहाउसमा राखेपनि लिन कोही नआउने काञ्जीहाउसका कर्मचारीको भनाई छ ।