नेपालगन्ज-भदौ २२ गते ।
गृह मन्त्रालयले १ दर्जन भंदा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रालयले काठमाडौँ, ललितपुर, कास्की, जुम्ला, दैलेख, सप्तरी सहितका जिल्लाका सीडीयोको सरुवा गरेको हो । मन्त्रालयले काठमाडौँका प्रजिअमा ललितपुरका प्रजिअ घनश्याम उपाध्यायलाई ल्याएको छ । काठमाडौँका सीडीयो गोविन्द रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएका छन् । ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको सरुवा भएको छ । कास्कीको सीडीयो लाई गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी बनेका छन् । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ लाई मन्त्रालय तान्दै त्यहाँ मुकेशकुमार केसरीलाई पठाइएको छ । यस्तै, दैलेख जिल्ला प्रशासनको जिम्मेवारी गोगन बहादुर हमाललाई दिइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायकमा पठाइएको छ । यता, बाँकेका सहायक टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा, पाँचथरका सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरमा गणेश गैरेलाई सरुवा गरिएको छ । यसैगरी सङ्खुवा सभाका प्रजिअ नरहरि खतिवडालाई सप्तरी जिल्ला प्रशासन कार्यालय, सप्तरीको जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभामा सरुवा गरिएको बताइएको छ ।