नेपालगंज-१५ भाद्र
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको नरैनापुर गाउँपालिका स्तरीय कार्यक्रम अभिमुखीकरण नरैनापुरमा सोमवार सम्पन्न भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको समन्वयमा नेरेसो बाँके शाखा मार्फत नरैनापुर र जानकी गाउँपालिकामा उक्त कार्यक्रम संचालन भई रहेको छ । कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ बिरुद्घको खोप सबैको पहुँचमा हुने गरी गुणस्तरीय, सुरक्षित र सर्वसुलभ रुपमा प्रदानमा समन्वय गर्ने र कोभिडको कारण उत्पन्न हुनसक्ने मनोसामाजिक र मानसिक स्वास्थ्य समस्यालाई कम गर्न नेपाल रेडक्रसका स्वयंसेवक परिचालन गर्ने रहेको छ । उक्त परियोजना पहिलो चरण मार्च देखि जुन २०२२ सम्म ३ महिना संचालन भएको कार्यक्रमको समिक्षा र जुलाई देखि डिसेम्बर २०२२ सम्म संचालन हुने कार्यक्रमको बारेमा सरोकारवालालाई जानकारी गराइएको थियो । नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तिायक अहमद शाहले रेडक्रसको सहयोग प्रंशानीय रहेको बताउदै विपद् र महामारीको समयमा नरैनापुर गाउँपालिकामा रेडक्रसले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नु भयो । नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाउन रेडक्रसले स्वयंसेवक परिचालन गरेको जिकिर गर्दै आगामी दिनमा यस विषयमा रेडक्रसको सहयोग निरन्तर रहने बताउनु भयो । सहभागीहरुले कोभिड–१९ महामारी रोकथामका लागि सबै तह, तत्वहरुको सहयोग र समन्वय अनिवार्य रहेको बताएका छन् । कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तिायक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख, स्वास्थ्य चौकीका प्रमुख र नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, गंगापुर उपशाखाका सभापति विक्रम प्रसाद वर्मा, लगायत पदाधिकारी र सदस्य र स्वयंसेवकहरुको सहभागिता रहेको थियो भने अभिमुखीकरणको सहजीकरण कार्यक्रम फोकल पर्सन प्रहलाद विश्वकर्माले गर्नु भएको थियो ।