भाद्र,९बाँके –
गठबन्धनमा बाँके क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका भागमा पर्ने सम्भावना रहेको बताइएको छ । २०७४ को निर्वाचनमा एमालेका नन्दलाल रोकायले नेपाली कांग्रेसका नेता बादशाह कुर्मीलाई हराएर सांसद बनेका यस क्षेत्रमा यसपटक कांग्रेसले उम्मेदवार छनोट र नेताहरुका आकांक्षा व्यवस्थान गर्न सकस पर्ने देखिएको छ ।
यस क्षेत्रमा यसपटक बादशाह कुर्मीसँगै, लक्ष्मीनारायण शाह र मेघराज ओलीको आकांक्षा रहेको बुझिएको छ । उनीहरुको आकांक्षामा तगारो बनेर बर्दिया निवासी पार्टीका सहमहामन्त्री किशोरसिंह राठोर आउने सम्भावना रहेको छ ।
बर्दिया क्षेत्र नम्बर २ बाट टिकट पाउने सम्भावना कम भएपछि किशोरसिंह राठोर बाँके क्षेत्र ३ बाट उठ्ने तयारीमा रहेका बाँकेका जिल्ला तहका नेताहरु बताउँछन् ।
राठौर निकट एक नेताका अनुसार उनले बर्दियाबाट टिकट नपाएमा बाँके क्षेत्र नम्बर ३ नै उनको विकल्प हो । त्यसका लागि उनले आन्तरिक तयारी पनि सुरु गरिसकेका छन् । बर्दियाको क्षेत्र नम्बर १ मा गत निर्वाचनमा कांग्रेस विजयी भएको थियो भने क्षेत्र नम्बर २ मा माओवादी केन्द्रले जितेकोले अहिले क्षेत्र नम्बर २ माओवादीकै भागमा पर्ने सम्भावना छ ।
राठौर क्षेत्र नम्बर ३ मा आएमा एमालेबाट आकांक्षी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्री तथा नेता भीम ओलीमध्ये एकले उनीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।