काठमाण्डौ– ६ भदौ । वन तथा वातावरण मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालमा नमुना काम गरेर देखाउने बताएका छन् । नेपाल वातावरण पत्रकार समूहले आइतबार काठमाण्डौमा आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरु विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले आफु विकासको बाधक नभएको बताए ।
उनले भने, “म र मेरो मन्त्रालय विकासको बाधक होईन, म जती दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्ने छु ।” उनी थप्छन्, “रुख काट्ने अनुमति दिँदा पनि मन्त्रीले वन विनास गर्यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन्, रुख काट्ने अनुमति नदिँदा विकास रोक्यो, विकास बिरोधी मन्त्री आयो भन्छन, तर हामीले गाली सहेर भएपनि विकासको क्षेत्रमा नमुना काम गर्ने छौँ ।”
मन्त्री यादवले आम नागरिक, नागरिक समाज, विज्ञ एवं पत्रकारहरुका राय, सुझाबका आधारमा आफुले काम गर्ने प्रतिबद्धता समेत जनाए । वन तथा वातावरणका क्षेत्रमा निस्वार्थ भावना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गरेको भन्दै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीहरुलाई आभार समेत व्यक्त गरेका छन् ।
मन्त्री यादवले मन्त्रालयभित्र मन्त्रीले गरेका कामहरुका फाईल अगाडि नबढाउने, असहयोग गर्ने खालका कामहरु भइरहेका र त्यो विषयमा आफुले हेर्दै आएको समेत बताए । उनले भने, “गलत कामप्रति म सचेत छु, मेरो हातबाट गलत काम हुँदैन, सही काम गरेको छु भने मलाई सबैको सहयोग आवश्यक छ, असहयोग गर्ने जो सुकै होस त्यसलाई म त्यो ठाउँमा राख्दिन ।” मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय युरोसिक्समा जानका लागि प्रक्रिया अघि बढाइसकेको पनि उनले जानकारी गराए ।