नेपाल गंज- २७ साउन : आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव तोकिएसँगै बाँकेमा चुनावी सरगर्मी तातेको छ । निर्वाचन घोषणा भएसँगै बाँकेमा उम्मेदवारको चर्चा सुरु भएको छ । उम्मेदवारका आकाक्षींले टिकटको लबिङदेखि निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै भावी उम्मेदवारबारे बाँकेमा चर्चा सुरु हुन थालेको हो । बाँकेको क्षेत्र १, २ र ३ मा दलहरुका तर्फबाट र स्वतन्त्रबाट कस्ता उम्मेदवार मैदानमा आउँलान् ? भन्नेबारे आम रुपमा चासो बढ्न थालेकोछ ।
आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमती भइसकेको छ । पाँच दलिय गठबन्धन हुने निश्चित भएपछि बाँकेको क्षेत्र नम्बर १, २ र ३ मा उम्मेदवारका विषयमा विभिन्न चासो र अड्कलबाजी सुरु हुन थालेको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर–३ मा पर्छन् । क्षेत्र नम्बर–२ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो । यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र काँग्रेसले एउटा वडा जितेको थियो ।
उक्त निर्वाचनमा क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा रहेका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा जसपा को अग्रता रहेको देखिन्छ । उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारहरु एक्ला एक्लै प्रतिस्पर्धा गरेका थिए ।
उक्त क्षेत्रमा २०७० सालसम्म पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पुर्वसभापति सुशिल कोइराला चुनाव लड्ने गरेका थिए । कोइरालाको निधन पछि २०७४ को निर्वाचनमा काँग्रेस र राप्रपाबीच चुनावी तालमेल हुँदा गठबन्धनका तर्फबाट राप्रपाका ओमप्रकाश आजाद चुनाव लडेपनि पराजित भएका थिए ।
यस्तै बामगठबन्धनका तर्फबाट सूर्य चिन्ह लिएर पशुपति दयाल मिश्र चुनाव लडेका थिए, भने संघीय समाजवादी पार्टीका तर्फबाट एक्लै चुनाव लडेर मोहम्मद ईस्तियाक राई प्रतिनिधी सभाको सांसदमा निर्वाचित भएका थिए । हाल जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका राई वर्तमान सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा छन् ।
निर्वाचनमा दलहरु एक्ला एक्लै लड्ने हुन् या मिलेर लड्ने हुन् ? अझैं एकिन भईसकेको छैन । यद्यपी, सत्तारुढ पाँच दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरेर चुनाव लड्ने सहमती भइसकेको छ ।