१९ साउन, काठमाडौं । सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीलाई उदधृत गर्दै विभिन्न राष्ट्रिय सञ्चारमाधययमले जनाएका छन् ।‘२०७९ मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय भएको छ’, ती मन्त्रीले सञ्चारकर्मीसँग भनेका छन्,‘एकै चरणमा निर्वाचन सम्पन्न हुनेछ।’
हिजो सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो।यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारसँग परामर्श गरेको थियोे। सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो। यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल प्रेससँग कुरा गर्दै शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताए। चुनाव घोषणापछि मतदाता नामावली संकलन स्थगित हुने कानूनी व्यवस्था छ ।