बिमा रकम हत्याउने उद्देश्यले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय बिकको सवारी दुर्घटना गराई हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहम्द खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा छन्। सीआईबीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो।प्रहरीले छ जनालाई साङ्गठिक अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।
शुक्रबार अपत्यारिलो संगठित अपराधमा संलग्नलाई प्रहरीले सार्वजनिक गर्दै सीआईबी प्रमुख सुवेदीले जानकारी दिनुभयो। रोडा-बालुवा डिपोमा मजदुरी गर्ने विकको योजनावद्ध ढंगले एक करोड २० हजार मूल्य बराबरको सर्वाधिक जीवन बीमा र ३० हजारको म्यादी जीवन बीमा गराएर योजनावद्ध अपराध गरेको प्रहरीले सार्वजनिक गरेको हो।
सर्जन बिकको २०७८ वैशाख २ गते राति बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । सर्जनलाई ट्रिपरमा बालुवा लोड गराउने भनि भे१०प १७२७ नम्बरको मोटरसाइकलमा गएका थिए । काम सकेर घर फर्किने क्रममा बैजनाथ गाउँपालिका–६ लालपुरको भित्री सडकमा विपरित दिशाबाट आएको मिनी बसले सर्जनलाई ठक्कर दिएको थियो । टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनी बसको ठक्करबाट सर्जनको मृत्यु भएको थियो ।
घटनाक्रम यस्तो छ
आरती भन्ने ललिताले सपना र सञ्जीवलाई भेट गराउँछिन्। सपना विदेश जाने भन्दै भौतारिएकी हुन्छिन्। सञ्जीवले डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान सपनालाई सुझाव दिन्छन्। अनि बाँकी प्रक्रिया पनि सुरु हुन्छ। २०७७ मङ्सिर २७ गते सपना विदेश जानको लागि आवश्यक सीप सिक्ने भन्दै काठमाडौं आउँछिन्।
अष्ट्रेलिया जना डिपेन्डेन्टमा विवाह गर्नुपर्ने हुन्छ। जसका लागि २१ वर्षीय सर्जनलाई तयारी पारिन्छ। उनीहरूको विवाह हुन्छ।
तर विवाह भएको एक महिनामै सर्जनको दुर्घटनामा मृत्यु हुन्छ। जुन उनीहरूले योजनाबद्ध रुपमा बनाएको प्रहरीको अनुसन्धान खुल्छ। कागजी रुपमा विवाह भएका श्रीमानको मृत्यु संस्कारमा समेत सपना पुग्दिनन्। जसले प्रहरीको अनुसन्धानमा थप बल पुर्याएको देखिन्छ।
मृत्युपछि बीमामार्फत आएको २ करोड ५० लाख रुपैयाँ सपनाको खाताबाट बाँडेर लिएको खुल्छ। जसमा सञ्जीवले ८० लाख, दीपकले ६० लाख, छविकुमारी (सपनाकी आमा) ले १७ लाख ४६ हजार, सपनाले ८६ लाख र अन्य रकम विभिन्न रुपमा खर्च भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। सपनाको आमाको खातामात्र प्रयोग भएकाले प्रहरीले उनलाई भने नियन्त्रणमा लिएको छैन।
सडक दुर्घटनामा ज्यान गइसकेपछि टुङ्गिएको घटना शंकाले थप अनुसन्धान गर्न प्रेरित गरेको देखिन्छ। बीमाको रकम बाहिरिएपछि पुर्नबीमा कम्पनीले शङ्का गरेको थियो। रकम दिएको झन्डै पाँच महिनापछि पुनर्बीमा कम्पनीले सिआइबीलाई अनुसन्धान गर्न पत्र लखेको थियो। त्यसपछि सिआइबीले अनुसन्धान गर्दै जाँदा प्रमाण फेला पर्दै गएको थियो।
प्रहरीको लागि अनुसन्धान बल पुग्न विवाहअघि नै गरिएको बीमामा इच्छाएको व्यक्तिको नाममा सपना मल्लको नाम हुनु, बीमा, विवाह र दुर्घटना समयको अन्तर, बीमितको बीमाको कारण र आर्थिक अवस्था लगायतको अनुसन्धान गर्दा थप प्रमाण देखिएपछि प्रहरीले अनुसन्धान झन् ‘न्यारो डाउन’ बनाएर गरेको थियो।
सर्जन र सपनाको विवाह दर्ता चैत २०७७ चैत २ गते भएको थियो। तर फागुन २८ गते जीवन बीमा गर्दा इच्छाएको व्यक्तिको नाममा सपनाको नाम लेखिएको थियो। सर्जनले पहिलो किस्ता २०७७ फागुन २८ गते तिरेका थिए। त्यसो त सर्जनको आर्थिक अवस्थाले बीमाको प्रिमियम तिर्ने अवस्थासमेत थिएन। वार्षिक ५ लाख ४० हजार बीमाको प्रिमियम तिर्न नसक्ने अवस्था थियो।
सर्जनले सावधिक र म्यादी बीमाको ठूलो रकम गर्नुपर्ने अन्य कारणसमेत खुल्दैन। सर्जन र सपनाको विवाह भए पनि सम्पर्क भने देखिँदैन। श्रीमान् मरेपछि आएको बीमा अरूलाई किन बाँड्नु पर्यो? जो व्यक्तिसँग कुनै पारिवारिक सम्बन्ध नै छैन। यिनै कारणले प्रहरीलाई थप अनुसन्धानमा सपोर्ट गरेको देखिन्छ। त्यतिमात्र होइन सर्जनको बीमाको पहिलो किस्तासमेत सञ्जीवले तिरिदिएको अनुसन्धानमा खुलेको एआइजी सुवेदीले बताए। पक्राउ परेका सरदार अहमद खाँ बीमा अभिकर्ता हुन्। दुर्घटना हुँदा उनै खाँको मोटरसाइकलमा सर्जन गएका थिए।
‘बीमा रकम हत्याउने उद्देश्य योजनाबद्ध रुपमा नै घटना भएको अहिलेसम्मको अनुसन्धानले देखाएको छ,’ एआइजी सुवेदीले भने।
सपनाको बैङ्कमा खाता खोल्ने, खातामा मोबाइल नम्बर र सर्जनको मृत्यु भएको सम्पूर्ण जानकारी सपनालाई सञ्जीवले नै दिएको अनुसन्धानमा खुलेको छ।