बाह्रबिसे नगरपालिका ७ सिन्धुपाल्चोकको टाङ्सार बस्तीको पहिरो पिडित १४ घरधुरीलाई आज स्थानान्तरणको लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतको हातबाट लालपुर्जा वितरण गरिएको छ ।
२०७७ सालमा गएको पहिरोले मानव क्षति नभएपनी धेरै घरहरु क्षति भएका थिए । यसरी क्षति भएको उक्त बस्तीमा बस्नै नमिल्ने अवस्था भएपछी पुर्वमन्त्री मोहन बहादुर बस्नेतको पहलमा र बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको समन्वयमा सोही क्षेत्रकै सुरक्षित बस्तिमा बस्नका लागि आज लालपुर्जा वितरण गरीएको हो ।
अघिल्लो स्थानीय सरकारले कुनै पहल नगर्दा झन् पिडित बनेको पहिरो पिडितहरु स्थानिय तहमा नेपाली कांग्रेसको सरकार आए लगत्तै लालपुर्जा पाउँदा धेरै खुशी भएको बताईएको छ । सम्भवतः यसरी पहिरो पिडितलाई स्थानान्तरण गर्नका लागि लालपुर्जा वितरण गरिएको नै पहिलो रेकर्ड भएको बताउनुहुन्छ समाजसेवी युधिर पौडेल ।
अघिल्लो स्थानिय सरकारले पहिरो पिडितको नाममा जम्मा गर्नुपर्ने १५ प्रतिशत रकम नै जम्मा नगरिदिएपछी पिडितले समयमा राहत पाउन नसकेको बताउनुहुन्छ नगर प्रमुख बालकृष्ण बस्नेत ।
बाह्रबिसे नगरपालिका ७ कै नागपुजेका पहिरो पिडितको एकसय दुई घर बनाउनका लागि स्थानिय तहले जम्मा गर्नुपर्ने रकम जम्मा गरिसकेको र जिल्ला प्रशासन कार्यालयबाट पनि सबै प्रक्रिया पुरा गरि सकेकोले अब एक दुई दिनभित्रै ५ लाख रुपैयाँ (जग्गा किन्न २ लाख रुपैयाँ र घर बनाउनका लागि ३ लाख रुपैयाँ) पिडितको नाममा खाता रहेको ग्लोबल आईएमइ बैंकमा जम्मा हुने भएको छ । त्यस्तै सोही नगरपालिकाकै सिरिसे, खाग्दल र जम्बुका ५७ घरधुरीलाई पनि तत्काल सोही बराबरको रकम तुरुन्तै उपलब्ध हुने पनि बताउनुहुन्छ नगर प्रमुख बालकृष्ण बस्नेत ।
कार्यक्रममा पुर्व मन्त्री बस्नेत लगायत नगरप्रमुख बालकृष्ण बस्नेत, नगर उपप्रमुख मन्जु तमाङ सहित नेपाली कांग्रेसका नेताहरु सहभागी भएका थिए ।